पोषण तथा यस सम्बन्धि जानकारीको अभावले हाम्रो गाँउ–समाजमा गम्भिर समस्याहरु निम्त्याएको महसुस गरेपछि, जनस्वास्थ्य, फार्मेसी, समाजसेवा र मिडिया जस्ता विविध पृष्ठभूमिका ४ युवा विद्यार्थीहरू, बोनिता शर्मा, नेहा मल्ल, मन्जिता राजोपाध्याय र आशुतोष कार्कीमा नेपालीहरूको स्वास्थ्य र पोषण स्तरोन्नति गर्ने दृढ सोचका साथ “सोचाई – पोषणका लागी युवा”, एक सामाजिक अभियानको सुरुवात भयो ।
विश्व स्वास्थ्य संगठनका अनुसार बच्चालाई जन्मेदेखि ६ महिनासम्म आमाको दुधमात्रै खुवाउनु पर्दछ । तर लुभुमा एउटी आमाले यो कुरा नजान्दा आफ्नो दुई महिनाको दुधे बालकलाई काजु घोटेर खुवाइन् । काजुको सानो टुक्रो शिशुको घाटीमा अड्केर अकालमै मृत्यु भएको दुखद् घटनाका बारेमा थाहपाएपछि यस्तो अवस्था फेरी आउन नदिन सोचाइका चार संस्थापक सदस्यहरुलाई पोषणको क्षेत्रमा डटेर लाग्न प्रेरणा मिल्यो ।
हामी सबैलाई थाहा छ कि रोगको उपचार गर्नु भन्दा रोग लाग्न नदिनुनै बुद्धिमानी हो । यहि मन्त्रलाई आत्मसाथ गर्दै पोषण र स्वास्थ्य सुधारको निम्ति नविनतम सिर्जना, शिक्षा, जनचेतना र पैरविमा केन्द्रित रही सोचाइ समूहले आफ्ना कार्यहरुको थालनी गर्यो ।
सुरुमा यो युवा समूहले के गर्यो त ? – नविनतम सिर्जना
सधैँ समस्याबारे मात्र कति छलफल गर्नु भनेर समाधानको धार प्रति लम्किदै यी युवाहरुले सुरुमा पोषण सिकाउने माला (न्युट्रिबिड्स ब्रेस्लेट) को निर्माण गरे । यस पोषण मालाको निर्माण समुदायका सयौं गर्भवती सुत्केरी आमाहरुसंग पटकपटकको छलफल पश्चात गरिएको हो ।
आमा गर्भवती भएको नौ महिना र बच्चा जन्मेको पहिलो २ वर्ष जोड्दा १००० दिन हुने गर्दछ । बालबालिकाको सुरुवाती जीवनको यो १००० दिन बच्चाको स्वास्थ्य र पोषणको मजबुत जग हाल्ने सुनौलो मौका हो । त्यसैले यी सुनौला १००० दिनमा बच्चालाई कस्तो, कति र कसरी पोषिलो खाना खुवाउने भन्ने जानकारी यो पोषण मालाले दिन्छ ।
-हाम्रो कथाको वेभसाइट बाट साभार गरिएको । पुरा पढ्नका लागि तल क्लिक गर्नुहोस ।
Read Full article here: SOCHAI Youth For Nutrition: A movement for health and nutrition